भदौ १ बाट खुल्दैछन् अन्नपूर्ण वेशक्याम्पका होटेल

काठमाडौं । गत फागुनमा आएको हिमपात र वर्षाले भत्किएका होटेलको पुनर्निर्माण सकिएपछि अन्नपूर्ण वेशक्याम्पका होटेल पुनः संचालनको तयारी गरिएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का मिडिया संयोजक गोपाल श्रेष्ठले सार्वजनिक गरेको सूचना अनुसार १ भदौबाट अन्नपूर्ण वेशक्याम्पको पदयात्रामा जाने पाहुनाले होटेलमा बास बस्न पाउने भएका छन् ।

संसारकै व्यस्त पदयात्रा मार्गमध्ये यो पनि एक हो । खासगरी माछापुच्छ्रे र अन्नपूर्ण हिमालको अलौकिक दृष्यावलोकनका लागि संसारभरका पर्यटक यहाँ पुग्छन् ।

यो सूविधा सम्पन्न र सजिलो  पदयात्रा मार्गसमेत हो । यसबाहेक नेपालको अर्को व्यस्त पदमार्ग एभरेष्ट वेश क्याम्प हो ।

अन्नपूर्ण वेशक्याम्पमा ४ वटा होटेल छन् । ति होटेलको पुनर्निर्माण सम्पन्न भएसँगै नजिकिएको पर्यटकीय मौसममा पर्यटकलाई सहज हुने भएको हो ।

अहिले होटेल नखुल्दा पर्यटकले लन्चबक्स र अन्य बन्दोवस्तीका सामान आफैले बोकेर लैजानु पर्ने बाध्यता छ ।

टानले आफ्ना सबै सदस्यलाई यसको सर्कुलर गरिसकेको छ । भदौदेखि मंसिरसम्म पदयात्राका लागि अधिक पर्यटक नेपाल आउने गर्छन् ।

अर्कोतर्फ नेपालमा पनि चाडबाडको समय पर्ने भएकाले यस समय आन्तरिक पर्यटक ठूलो संख्यामा घुमघाममा निस्कने गर्छन । यहाँका एक होटेलले औसतः ३० जनासम्मलाई एक रातमा सेवा दिन सक्छन् ।