काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना खोप किन्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने निर्णय गरेको छ । नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीको भनाई छ । यो रकमले करीव १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने भएको छ ।
एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले अत्यावश्यक कोरोना खोप किन्दै आफ्ना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताएका छन् । छिट्टै खोप किन्दै अवस्था सामान्य बनाउनु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरेका छन् । यसअघि सन् २०२० डिसेम्बर एडिबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो । सोही अन्तर्गत नेपालले यो सहयोग पाएको हो ।