काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अब पार्टीको बैठक नराखिने भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारको चरम दूरुपयोग गरिएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पहिलो बैठक बालुवाटारमा बोलाएपछि उनको समेत आलोचना भएको थियो । पार्टी कार्यालयमा धर्ना रहेका कारण बालुवाटारमा बोलाउनु परेको उनले बताएका थिए । तर, शुक्रबार र शनिबार बोलाइएको पार्टी पदाधिकारी बैठक भने प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।
कांग्रेसले १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाइएको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगर्ने स्पष्ट पारे । उनले विगतको गलत–गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भनी ट्वीट गरेका छन् ।