भारतमा सरकारको बढी आलोचना गर्ने दैनिक भास्कर र भारत समाचार टिभीमा आयकर विभागको छापा

नयाँ दिल्ली । भारतमा सरकारले आफ्नो विरोधी संचारमाध्यममाथि आक्रमण शुरु गरेको छ । कोरोनाभाइरस महामारीका बेला सरकारको कामको सबैभन्दा बढी आलोचना गरेका संचारमाध्यममा त्यहाँको आयकर विभागले छापा मारेको हो । भारतीय संचारमाध्यमका अनुसार भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाको कार्यालयमा आयकरले छापा मारेको छ । उनीहरुमाथि कर छलीको उजुरी परेको भन्दै अनुसन्धान थालेको अधिकारीहरुले बताएका छन् ।

ती संस्थामा काम गर्ने कर्मचारीहरूको घरमा पनि छापा मारिएको छ । कतिपयको मोबाइल फोन समेत जफत गरिएको छ। आम सञ्चारबारे वकालत गर्ने थुप्रै संस्था तथा विपक्षी दलका नेताहरूले उक्त कदमलाई प्रेस स्वतन्त्रता माथि जानिबुझी गरिएको हमला भनेको बीबीसीले लेखेको छ । भारतका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले भने पछिल्लो प्रकरणमा सरकारको संलग्नता अस्वीकार गरेका छन्। उनले सरकारी निकायले आफ्नो काम गरेको भन्दै त्यसमा सरकारको हस्तक्षेप नभएको उनको दावि छ ।

हिन्दी भाषामा प्रकाशित हुने दैनिक भास्कर पत्रिका भारतमा सबैभन्दा बढी पढिने पत्रिकामा गनिन्छ । कोरोनाभाइरस महामारीकामा पत्रिका र भारत सञ्चारले अक्सिजनको अभाव, अस्पतालमा शय्याको अभाव भएका विषयलाई प्राथमिकताका साथ उठाएका थिए । यसले आम मानिसका आवाज उजागर गरेको थियो । तर, सरकारको भने ठूलो आलोचना भएको थियो ।

कोरोनाभाइरसका कारण मृत्यु भएको ठानिएका गङ्गा नदीमा तैरिरहेका मृत शरीरबारे समेत यी संचारमाध्यमले सबैभन्दा पहिले लेखका हुन् । दुवै सञ्चारमाध्यमले सरकारले समाचार सम्प्रेषण गरेकै आधारमा नियोजित रूपमा आफूहरूलाई निसाना बनाइएको प्रतिक्रिया दिएका छन् ।