नेपालको पानी विदेश निर्यातको तयारी

काठमाडौं । नेपालको पानी अब विदेशमा निर्यातको तयारी शुरु गरिएको छ । रुद्र गंगा नेचुरल वाटर कम्पनीले रसुवाबाट स्प्रिङ पानीको उत्पादन थालेको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पानीको ब्राण्ड सार्वजनिक गरिएको हो । हिमालबाट बगेर आउने शुद्ध पानी प्रशोधन गरी उत्पादन थालिएको हो ।

खानेपानी मन्त्री बिना मगरले रसुवा ब्रान्डको पानी उत्पादन भएको औपचारिक घोषणा गरिन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस कम्पनीले प्लान्ट स्थापना गरेको कार्यक्रममा जानकारी गराइयो ।

गोसाइँकुण्ड नगरपालिका ६ मा प्लान्ट स्थापना भएको र हिमालको शुद्ध पानीलाई प्रशोधन गरी तयारी पानी उत्पादन गरिएको कम्पनीका अध्यक्ष गणेश भण्डारीले बताए ।

उनका अनुसार यस कम्पनीले जर्मन प्रविधि प्रयोग गरी पानीको उत्पादन थालेको हो । दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रिङ वाटर उत्पादन हुने यस कम्पनीले नेपाली बजारमा भने शुक्रबारदेखि नै पानीको बिक्रि थालेको छ ।

विदेश निर्यातको तयारी पुरा गरी डिसेम्बरबाट खाडी मुलुकमा नेपाली पानी निर्यात गर्ने लक्ष्य राखिएको छ । नेपाल फ्रेस वाटरको सबैभन्दा ठूलो मुहान क्षेत्र हो ।

किनकी हिमालबाट बगेर आएको पानी निकै पोशिलो र शुद्ध मानिन्छ । तर, त्यसलाई वस्तीसम्म पुर्याउने उपाय नहुँदा धेरै बस्तीमा अहिले पनि खानेपानीको हाहाकार रहेको छ ।