नेपालमा बढ्यो कोरोना संक्रमण दर, ३११४ मा संक्रमण पुष्टी हुँदा २१९७ ले जिते

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भएको छ । केही दिन स्थिर रहेको संक्रमण अब दैनिक ३ हजार भन्दा माथि पुगेको छ । सार्वजनिक यातायात खुला भएको र व्यापार व्यवसायसहितका क्षेत्र समेत खुला भएपछि बजारमा चहलपहल बढेको छ । यसले भाइरसको संक्रमण समेत बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

कुल १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा २१९७ जनाले भने कोरोना जितेका छन् । आज काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै काठमाडौं उपत्यकाबाहिर कास्कीमा २७१, चितवनमा २४८, मोरङमा १६४, नवलपरासी पूर्वमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।