मलेसियाबाट एकै पटक नेपालीका २४ शव आए, एक सातामा ३७ शव ल्याइयो

काठमाडौं । आज मलेसियाबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल आएको छ । विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका नेपालीको शव आज राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजले नेपाल ल्याएको हो । मलेसियाको क्वालालाम्पुरबाट वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रसाद पौडेलका अनुसार एक साता भित्र ३७ जनाको शव नेपाल ल्याइएको छ । तीन जनाको अस्तु आएको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार अझै मलेसियामा १६ शव नेपाल ल्याउनु पर्ने अवस्थामा छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।