कैयौं अमेरिकी नागरिक र संस्थामाथि चीनले लगायो प्रतिवन्ध

काठमाडौं । चीनले थुपै अमेरिकी नागरिक र संस्थामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको विरोध स्वरुप चीनले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बीबीसीका अनुसार यो सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस समेत रहेका छन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो।

हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो। वाशिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको पनि चेतावनी दिएको छ। अघिल्लो वर्ष भएका विशाल लोकतन्त्र पक्षधर प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो। त्यसले देशको विभाजन, देश द्रोह र विदेशी शक्तिहरूसँग गठ जोड गर्ने विरुद्ध आजीवन कारावास अधिकतम सजाय तोकेको छ।

शुक्रवार चिनियाँ विदेश मन्त्रालयले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्व अनुमति नलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरूको सङ्ख्या विस्तार गरेका थिए। चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस चाइना इकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङ छन्।