सर्वाधिक विन्दुको रेकर्ड राखेको नेपाली सेयर बजारमा करेक्शन

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । आइतबार एकैदिन ५४ अंकले बढेर इतिहासकै सर्वाधिक विन्दुको रेकर्ड राखेको बजारमा आज सामान्य करेक्शन आएको हो ।

आज हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स समूहकोे सेयरमा चमक आए पनि बैंकिङ समूहमा गिरावट आउँदा बजार ओरालो लागेको हो । बैंकको सेयरमा प्रफिट बुक गर्ने हाबी हुँदा बजारमा सामान्य करेक्शन आएको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकमभने उत्साहजनक नै रहेको छ । आज लगातार दोस्रो दिन १४ अर्ब माथिको कारोबार भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ८.२४ अंकले घटेर ३०५०.४३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.३५ प्रतिशतले बढेको छ भने बैंकिङ समूह २ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ङादी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्ट्रीलरी साढे ३३ करोड र एनआइसी एशिया बैंक ३३ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

घट्दो बजारमा पनि आज ७ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । विशाल बजार, जानकी फाइनान्स, रिडी हाइड्रोपावर, माउन्टेन हाइड्रो, घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यस्तै, हिमालयन ऊर्जा र ङादी पावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् भने प्रोग्रेसिभ फाइनान्स, साञ्जेन र रसुवागढीको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।