काठमाडौं । पाकिस्तानका विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता खेल्ने निश्चित भएको छ । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन् । आगामी असोजमा काठमाडौंको कीर्तिपुरमा आयोजना हुने इपीएलमा उनी काठमाडौं किंग्स ११ को तर्फबाट मैदानमा उत्रने छन् । असोजमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग आयोजना हुँदैछ ।
सोमबार एक कार्यक्रम आयोजना गर्दै टेलेहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले अफ्रिदीलाई ईपीएलमा ‘आइकोनिक इन्टरनेशनल प्लेअर’को रुपमा अनुबन्ध गरेको घोषणा गरेको हो । कार्यक्रममा शाहीद अफ्रिदी स्वयं भिडियोमार्फत प्रत्यक्षरुपमा जोडिएका थिए । उनले आफू नेपालमा क्रिकेट खेल्ने उत्साहित रहेको प्रतिक्रिया दिए । अफ्रिदीका अनुसार काठमाडौं उनको पहिलो भ्रमण हुनेछ । ४४ वर्षीय अफ्रिदी उनको समयका सबैभन्दा सफल र उत्कृष्ट अलराउण्डर मानिन्छन् । अफ्रिदीलाई टी २० शैली भित्राउने खेलाडीका रुपमा पनि चिनिन्छ ।
काठमाडौंका प्रमुख तथा टेलेहोल्डिङ्स प्रालिका डिरेक्टर रोहित गुप्ताले अन्य राम्रा विदेशी खेलाडी समेत अनुबन्धको तयारी रहेको बताएका छन् । काठमाडौंबाट नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछाने समेत खेल्ने छन् ।
असोज ९ गतेदेखि २३ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने चौथो संस्करणको ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्ने तालीका छ ।