काठमाडौं । नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थप भएका छन् । आसन्न १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएको नेपाली कांग्रेसले जनाएको छ । जसमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थप भएका हुन् । क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।
जसमा ४ लाख ४३ हजार ६७८ जनाले नवीकरण गरेका छन् । १३ औं महाधिवेशनमा कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्य रहेका थिए । कांग्रेसले क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको छ । क्रियासिल सदस्यमा ६ लाख ५३ हजार ४३८ पुरुष छन् । १ लाख ९९ हजार ९७ जना महिला छन् । अन्य वर्गमा १७६ क्रियाशील सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
कांग्रेसमा ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या तीन लाख नजिक छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४२७ रहेको छ । २६ देखि ४० वर्षका २ लाख ४९ हजार ७७४ क्रियाशील सदस्य देखिएको छ । यस्तै ४१–६० वर्षका ३ लाख २८ हजार २३४ छन् । अधिकांश नेतृत्व रहेको उमेर समूह ६१–७५ उमेर समूहमा भने मात्र ८३ हजार १० क्रियासिल रदस्य रहेको देखिएको छ । कांग्रेसमा सबैभन्दा बढी खस–आर्य समुदाय सदस्य रहेको पाइएको छ ।
यो समूहबाट तीन लाख ६७ हजार ६११ क्रियाशील सदस्य रहेका छन् । आदिवासी जनजातिबाट २ लाख ८ हजार १५९ जना रहेको देखिएको छ । अल्पसंख्यकबाट ६ हजार ८२९, मधेसी ९५ हजार १४१, मुस्लिम १६ हजार ९७०, थारु २७ हजार ६१५ र पिछडिएको क्षेत्रका १४ हजार ९१४ जना क्रियाशील सदस्य बनेका छन् । अपांगता भएका क्रियाशील सदस्य २०१ जना छन् ।