चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार

काठमाडौं । सरकारले चीनबाट थप ६० लाख डोज खोप खरीद गर्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिद गर्न सम्झौता अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढेको हो । कोभ्याक्स सुविधामार्फत चीनले अनुदालनमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्त भित्र उपलब्ध हुने भएको छ ।

भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप समेत असोज मसान्तभित्र प्राप्त भइसक्ने मन्त्रालयले जनाएको छ । असोज मसान्तभित्रमा कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयको भनाई छ । प्रवक्ता डा. पौडेलका अनुसार कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख र १२ वर्षमाथिका बालबालिकालाई फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढेको छ ।

१२ वर्षमाथिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया समेत अगाडि बढाइएको छ । कोभ्याक्सबाट निशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि क्रमशः प्राप्त हुँदै जाँदा आगामी चैत मसान्तसम्म सबै नेपाली नागरिक पूर्ण खोपको पहुँचमा पुग्ने मन्त्रालयले जनाएको छ ।


खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपहरु उत्पादन मूल्य र आयात खर्चमा अधिक्त्तम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति प्रदान गरिसकेको समेत मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा अहिलेसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप आइसकेको तथ्यांक छ ।

चीनबाट अनुदानमा १८ लाख र खरिद सम्झौता भएका ४० लाख डोजसहित कुल ५८ लाख डोज भेरोसेल खोप आएको हो । भारतबाट खरिद सम्झौता भएका १० लाख, अनुदानबाट ११ लाख, कोभ्याक्ससुविधानमार्फत ३ लाख ४८ हजार गरी कुल २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप आएको छ । अमेरिकाबाट अनुदानमा जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज खोप आएको छ ।