निर्णायक भनिएको एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा विवाद टुंग्याउने प्रयोजनका लागि निर्णायक भनिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अपरान्ह ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ । बैठकमा केन्द्रीय विभागलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण मुख्य एजेण्डा रहेको एमालेले जनाएको छ । एमालेले साउन २५ मा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

एमाले अध्यक्ष ओलीले आजको बैठक निर्णायक हुने यसअघि नै बताएका थिए । बैठकमा विघटित कार्यदलका सदस्यहरुले पार्टी एकतामा गरिएको प्रगतिबारे बैठकमा व्रिफिङ गर्ने छन् । अध्यक्ष केपी शर्मा ओलीले एकताको प्रयासका लागि दिएको सहमतिको समयसीमा सकिएको छ ।

बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बैठकलाई प्रगतिबारे जानकारी गराउने छन् । साथै बैठकले अब के गर्ने भन्ने तय गर्ने बताइएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल १० बुँदे सहमतिमा असन्तुष्ट छन् । तर, ओली पक्ष भने यसमा लचिलो हुने संकेत गरेका छैन ।