काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएका छन् । उनले प्रहरी र स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उनको निजी सचिवालयले जानकारी गराएको छ ।
तुइनबाट महाकाली पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा स्थानीय ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयबासिन्दाले दावि गरेका छन् । स्थानीय प्रशासनबाट भने व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर महाकाली नदीमा बेपत्ता भएको जानकारी पाएको बताएको छ । भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक पुष्टी हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ । वेपत्ता युवाको खोजी भने आज पनि जारी रहने छ ।