काठमाडौं । अब नेपालमा समेत ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने भएको छ । कसैका शिशुले आमाको दूध नखाने, कसैको दूध नआउने र कतिपय आमाले खुवाउनै नसक्ने समस्या भएको अवस्थामा सबै बालबालिकालाई आमाको पोशिलो दुध खुवाउन सक्ने अवधारणासहित नेपालमा ‘मिल्क बैंक’ स्थापना हुने भएको छ । आमाहरूले दान गर्ने दूध सुरक्षित रूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको छ ।
अस्पतालकी निर्देशक डा. संगीता मिश्रलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार तीन महिनाभित्र मल्कि बैंक सञ्चालनमा ल्याइसक्ने योजना छ । उनका अनुसार मिल्क बैंकले आकस्मिक स्थितिमा शिशुहरूलाई आमाको दूध सुनिश्चित गर्नेछ । विभिन्न मुलुकमा यस्ता बैंक नवजात शिशुलाई पोषण पुर्याउन र रोक्न सकिने खालको मृत्युलाई कम गर्न प्रभावकारी भएको छ । जन्मेदेखि ६ महिनाको हुन्जेलसम्म स्तनपान गराउँदा शिशु मृत्युदर घटाउन सकिने अनुसन्धानहरुको निष्कर्ष रहेको छ । बिरामी शिशुलाई समयमै आमाको दूध दिँदा ज्यान जोगिने सम्भावना ६ गुणाले बढ्ने बताइन्छ ।
मिल्क बैंक संचालन गर्न स्थान छनोट समेत भइसकेको छ । आगामी ६ महिना भित्र सातै प्रदेशमा मिल्क बैंक स्थापनाका लागि पहल गर्ने तयारी अस्पतालको छ । प्रसूति गृहमा स्थापना हुने मिल्क बैंकमा दूध दान गर्ने आमाहरूको एचआईभी, एचबीएसजी, डब्लूबीआरएल लगायत परीक्षण हुनेछन् । परीक्षणबाट कुनै समस्या नदेखिए ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दूध संकलन गरिने भएको छ । दूधको गुणस्तर ‘मिल्क एनलाइजर’ को माध्यमले सुनिश्चित गर्ने तयारी छ । संकलित दूधमा कुनै रोगव्याधि नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिने भएको छ । माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने बोतलमा रहेको आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइने भएको हो ।