काठमाडौं । सर्वोच्च अदालतबाट माओवादी केन्द्रले सांसद पदबाट निकालेका चार नेताको सांसद पद अन्ततः फिर्ता नहुने भएको छ । सर्वोच्च अदालतबाट उनीहरुको पद पुनर्बहाली गर्न अस्वीकार गरेको हो । आफूलाई दल त्यागमा पार्टीले गरेको कारबाही खारेज गरी सांसद पदमा पुनर्बहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सर्वोच्च पुगेका थिए । उनीहरूको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनीहरूले माग गरेअनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
उनीहरु अध्यक्ष केपी ओलीले प्रमाणित गरेको पार्टीको दस्तावेजमा एमालेका पार्टी सदस्य रहेको खुलेको भन्दै सर्वोच्चले उनीहरुको पद फिर्ता गर्न अश्वीकार गरेको हो । उनीहरूले दल त्याग गरेको जानकारी चैत २६ गते प्रतिनिधिसभा बैठकमा दिइएको देखिएको थियो । आदेशमा भनिएको छ, ‘माओवादीले आफ्नो विवेक वा तजविज प्रयोग गरी दल त्यागमा गरेको निर्णयको औचित्य वा अन्तरवस्तुमा प्रवेश गरी अहिले नै अन्तरिम आदेशकै सन्दर्भमा प्रश्नहरूको निरूपण गर्नु मनासिव देखिँदैन ।’
फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि उनीहरुलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका थिए।