आफ्नो अभिव्यक्ति आलोचित बनेपछि फुटबल टीमका कोच अल्मुताइरीले माफी मागे

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो भनाई आलोचित बनेपछि माफी मागेका छन् । उनले केही दिन अगाडी राजिनामा घोषणा गरेका थिए । त्यसअगाडी उनले नेपालमा खेलाडी र पदाधिकारीमा राजनीतिक मानसिकता रहेको भन्दै आलोचना गरेका थिए । यो अभिव्यक्तिको आलोचना भएसँगै उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

मुख्य प्रशिक्षकले आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर बोल्नु अनुशासन उल्लंघन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसहितले उनीमाथि कारवाही गर्न माग गरेका थिए । सोहीका कारण कोच अल्मुताइरीले नेम्वाङका कारण राजिनामा दिने भन्दै सामाजिक संजालमा समेत लेखेका थिए ।


प्रशिक्षक अल्मुताइरीले भने आफूले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन चाहेको समेत स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा आफ्नो भनाइको गलत अर्थ लागेको महसुस भएको र त्यसप्रति क्षमा माग्ने बताएका हुन् ।

आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टिमसँग जोडिन पाएकोमा खुसी रहेको पनि उल्लेख गरेका छन् । उनको प्रशिक्षणमा नेपालले साफ फुटबलको तयारी गरिरहेको छ ।