काठमाडौं । नेपालका सर्वाधिक सफल कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट राष्ट्रिय टीमबाट सन्यासको घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो आधिकारिक सामाजिक संजालबाट यस्तो घोषणा गरेका हुन् । पारस १० वर्ष भन्दा बढी समय नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका थिए । उनले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा गरेका छन् । अकस्मात आएको उनको सन्यासले नेपाली समर्थकलाई भने निरास बनाएको छ । पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए ।
सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए । १० वर्षको बीचमा नेपाली क्रिकेटलाई उनले निकै उचाईमा लगेका थिए । पारस नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान मानिन्छन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदवसीय अन्तार्रष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा उनले महत्वपूर्ण भूमिमा निभाएका छन् ।
यस्तो छ पारसले दिएको सन्देश
सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।
२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु
क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें । मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउनेछौं।
अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् ।
मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेछौं भन्ने विश्वास लिएको छु ।