काठमाडौं । कोरोना महामारीका बीच काठमाडौं उपत्यकामा बढेको मानिसहरुको अत्यधिक भिडले अधिकारीहरुको चिन्ता बढाएको छ । स्वास्थ्य मन्त्रालयले तेस्रो लहर आउने चेतावनी दिइरहेको समयमा कोरोना सङ्क्रमण समेत बढिरहेको छ । भीडभाड नरोकिएपछि काठमाडौं उपत्यकामा अब अनुगमन टोली नै खटिने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरिएको छ ।
समितिले आजबाट उपत्यकामा अनुगमन थाल्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन गरिने भएको छ । अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुनेछ ।
मास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्ने र अटेर गरेमा कारबाही हुने भएको छ । उपत्यकामा अहिलेकै प्रकृतिको निषेधाज्ञा केही समय लम्ब्याउने तयारी छ । त्यसले पनि नियन्त्रण नभए कडाई गर्ने तयारी सरकारको छ । यस विषयमा मंगलबार कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठक बस्दैछ ।