न्युयोर्क
गायक गम्बु शेर्पाले आफ्नो आत्मकथाको पुस्तक ‘फर्किएका पाइला’ लाई न्युयोर्कमा सार्वजनिक गरेको छ। पुस्तकलाई अतिथीहरु शिक्षाविद आडदाबा शेर्पा, कानुन व्यवसायी विनोद रोका र धर्मगुरु आचार्य नाग वङ्ग साङ्गेले सयुक्त विमोचन गरेका हुन् ।
उनले बाल्यकालदेखि नेपालको राजधानी काठमाडौं हुँदै अमेरिकासम्मको आरोह अवरोहलाई पुस्तकमा समेटेका छन् । ग्रामिण परिवेशमा एउटा निम्न मध्यम परिवारले व्यहोर्नु पर्ने समस्यालाई ईमान्दारपूर्वक प्रस्तुत गरेका छन् । त्यसैगरी काठमाडौंमा पहाडबाट भर्खर झरेकाहरुले झेल्नुपर्ने झमेला र दुखलाई जस्ताको त्यस्तै उतारेका छन् । शुरुवाति दिनका अमेरिकी जीवन संघर्ष र दिनचर्याको दर्पण पुस्तकमा भेटिन्छ ।

न्युयोर्कस्थित शेर्पा किदुकको सभाकक्षमा भएको कार्यक्रमको सभापतित्व विश्व शेर्पा सघंका उपाध्यक्ष निमा शेर्पाले गरेका थिए भने साहित्यकार किशनसिंह धामी र आङदावा शेर्पाले पुस्तक उपर समिक्षा गरेका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, योगगुरु डा़ राजु अधिकारी, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, प्राडा गोविन्द कोइराला, कलाकार अभय ढुंगेल, साहित्यकार आनन्द श्रेष्ठ,, लोप्सा थिले सालक र आङ छिरिङ्ग शेर्पा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस पुस्तकबाट आर्जित आम्दानि भने “पशी शेर्पा फाउण्डेशन” मार्फत सामाजिक कार्यमा खर्चिने कलाकार गम्बु शेर्पाले जानकारी गराएका छन् । समाजसेवामा समेत सकृय उनले “खाना, कपडा र शिक्षा” नामक संस्थालाई आफ्नो कमाईको केही अंश छुट्याउने गरेका छन् ।उनले विशेषगरी टुहुरा बच्चाहरूलाई खाना कपडा र शिक्षा दिने उद्देश्यले संस्था सञ्चालनमा ल्याएको बताएका छन् ।