विश्व रक्तदाता : अर्जुन मैनाली, न्युयोर्क
सायद कोरोना महामारीले गर्दा होला, गत बर्षको तुलनामा यस बर्ष त्यति रक्तदान संकलन हुन सकेको छैन । अमेरिकामा करिव आधा जनसंख्याले कोरोना बिरुद्ध खोप लगाएता पनि फेरी कोरोना संक्रमितको संख्या बढी रहेका छन । यस्तैबीच ब्लड बैंकहरुले आम जनमनसमा रक्तदान गर्न अनुरोध गरी रहेका छन । स्वस्थ ब्यक्तिहरुले नै रगत दिएर बिरामीहरु बचाउँछन भन्ने मलाई राम्रो सङ्ग थाहा छ । त्यसैले मैले जुलाई ९ र २३ मा दुई दुई युनिट प्लेट्लेट्स दान गरेँ ।
बिगत एक महिनादेखि मेरो शारीरिक, कलेजो, मृगौलामा पत्थरी, रगत, आदी जाँच चली रहेको छ । अगष्ट ३ मा कोलोनोस्कोपि जाँच गर्न डाक्टरसङ्ग एक महिना पहिले नै समय मिलाएको छु । जुलाई २६ मा न्यूयोर्क ब्लड सेन्टरले फोन गर्दै ‘एकजना बिरामीको लागि तपाईंको प्लेट्लेट्स म्याच भएको छ, अगष्ट १ तारिखमा दिन सक्नु हुन्छ?’ सोधे । मैले तुरुन्तै हुन्छ भन्न सकिनँ । फोन होल्ड मै थियो । बिरामीको अवस्था, कमजोरीपन, अङ्ग प्रत्यारोपण गर्नु पर्दा, रातो रक्तकोष, प्लेट्लेट्स, प्लाज्नाको सुक्ष्म जाँच गरेर संचार गर्नु पर्ने हुन्छ । ती बिरामीसङ्ग मेरो प्लेट्लेट्समा हुने एच एल ए म्याच भएको रहेछ । ब्लड बैँकमा हरेक रक्तदाताको रगत, प्लेट्लेट्स आदी सुक्ष्म तरिकाले अध्ययन गरेर तथ्याङ्क अभिलेख गरिएको हुन्छ । कुनै कुनै बिरामीको जटिलता हेरेर चिकित्सकले रक्त तत्व मेल हुनेसम्म उपलब्ध गराउन कोशीस गर्दा रहेछन । एच एल ए भनेको ह्युम्यान ल्युकोसाइट एन्टिजेन्स हो। यो एक किसिमको प्रोटीन हो । हाम्रो शरीरमा रगत समुह भए जस्तै रगतको प्लेट्लेट्समा रहेको एच एल ए मा पनि समुहहरु हुँदा रहेछन । अति नै सुक्ष्म तरिकाले हेर्दा मात्रै यसका समुहहरु थाहा हुँदो रहेछ । मानव शरीरको प्रतिरक्षा प्रणालीले एचएलए मार्फत शरीरका आन्तरिक कोषहरुलाई आगन्तुक कोषहरुबाट जोगाउनको लागि हेर्ने काम गर्दो रहेछ । र शरीरमा तागत पनि दिदो रहेछ ।
मलाई एकदमै अप्ठ्यारो पर्यो । कोलोनोस्कोपी गर्न एक महिनापछि पाएको समयलाई रद्द गरेर फेरी अर्को एक महिनापछिको समय लिन पनि मन लागेन । यो कोलोनोस्कोपि गर्न अघिल्लो दिन कुनै पनि ठोस खानेकुरा खानु हुँदैन रहेछ, साँझमा पेट पुरै सफा गर्न पखाला लाग्ने औषधी खानु पर्दो रहेछ, भोलिपल्ट कोलोनोस्कोपि गर्दा आन्द्राको परको भागसम्म देख्न सकियोस भन्ने हुँदो रहेछ ।
ति बिरामीको जीवन मेरो रगतमा भर परेको छ । हे भगवान, यो मेरो कस्तो परिक्षा हो? मैले यत्तिका पटक रगत दिएर धेरै बिरामी बचाउन मौका पाएँ । यिनको लागि पनि जसरी भएपनि दिन्छु । मेरो आफ्नो सानो समस्यालाई अली पर सारेर तिनलाई बचाउनु पर्छ भन्ने भावनामा दृढ भएँ । अन्त्यमा मैले फोनमा हुन्छ भन्ने जवाफ दिएँ ।
अनि अगष्ट १ तारिख बिहान ७:१५ बजे मेल्भिल डोनर सेन्टर, न्यूयोर्कमा प्लेट्लेट्स दान गरेँ । त्यहाँकी इन्चार्जले यो प्लेट्लेट्स ती बिरामीलाई भोली बिहान संचार गरिने छ भनिन । मनमनै ती बिरामीको छिट्टै स्वास्थ्य लाभ होस भनेर शुभकामना ब्यक्त गरेँ । यही नै मेरो धर्म हो भन्ने लाग्यो । सायद पुन्य पनि !
रक्तदान गरेर दुइदिनसम्म खाना नखादा, कमजोरी महसुस त पक्कै हुन्छ होला ! तर केही दिनमै तन्दुरुस्त भई हाल्छु नि !