काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताले आगामी तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंग्याउने सहमति गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार सम्पन्न छलफलमा यस्तो सहमति जुटेको हो । क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिइने भएको नेताहरुले बताएका छन् ।
आज सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बैठक बसेको थियो । अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा विवाद छ । बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका समेत २ दिन भित्र टुंग्याउने विषयमा छलफल भएको बताइएको छ ।