‘रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल र नाकामा किन सास्ती ?’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीबाट फर्कनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । आज भन्सार विभागमा निरीक्षण तथा ब्रिफिङमा पुगेका उनले जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर फर्कदाँ उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती नदिन आग्रह गरे ।

उनले भने ,’वैदेशिक रोजगारीबाट फर्किने नेपालीले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ कि सकिँदैन ?’ अर्थसचिव मधुकुमार मरासिनीले विश्व व्यापार संगठनमा आवद्ध भएयता नेपालको निर्यात घटिरहेको र आयात बढिरहेको जानकारी गराए । त्यसयता नेपालमै उत्पादन हुने कृषिजन्य वस्तुहरुको समेत आयात हुने गरेको अवस्थाले व्यापार घाटा बढेको सचिव मरासिनीको भनाइ छ ।

कार्यक्रममा राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र सदस्य निर्मलहरि अधिकारीले जिडिपिमा २५ प्रतिशत योगदान रहेको कृषि क्षेत्र राजश्वको दायरामा आउन नसकेको, ४० प्रतिशत कारोबार अनौपचारिक क्षेत्रमै सीमित हुने गरेको, साढे चार लाखभन्दा बढी कम्पनीहरुले विना दर्ता कारोबार संचालन गरिरहेको तथ्याङ्क प्रस्तुत गरे ।

यस्तै ४८ अर्ब राजश्व बक्यौता रहेको, ५८ अर्ब करका मुद्दा अदालतमा विचाराधीन रहेको, १२ अर्ब मुल्य अभिवृद्धि कर वक्यौता रहेको र ५५ अर्ब राजश्व बेरुजु रहेको जानकारी दिए । भन्सार विभागका महानिर्देशक यामलाल भुसाल र उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले २७ वटा भन्सार कार्यालय दक्षिणी सीमा र ९ वटा भन्सार कार्यालयहरु उत्तरी सीमा क्षेत्रमा रहेको भएपनि भन्सारको ९६ प्रतिशत हिस्सा आठ वटा भन्सार कार्यालयको मात्र रहेको जानकारी दिए ।