न्यू ह्यामसर नेपाली समाजमा विष्ट

म्यान्चेस्टर
न्यू ह्यामसर नेपाली समाजको अध्यक्षमा शान्ता विष्ट चयन भएकी छिन् । हालै सम्पन्न समाजको निर्वाचनबाट विष्ट आगामी दूई बर्ष (२०२१–२०२३) का लागि सर्वसम्मत चयन भएकी हुन् ।
समाजको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिव माधव गुरुङ, कोषाध्यक्ष भेष शर्मा, सचिव प्रभात भट्टराई एवं सह–कोषाध्यक्षमा कुमार भट्टराई चुनिएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा रिकाश गुरुङ, सुजन केसी, शेखर राई, प्रदिप कार्की, राधिका भण्डारी, मुना कोइराला, शिवानी श्रेष्ठ, रन गुरुङ एवं विद्यार्थी सदस्यमा नेहा शर्मा चयन भएका छन् ।
राज्यको सबैभन्दा ठूलो सहर म्यान्चेष्टरमा आयोजित एक समारोहमा बिभिन्न क्षेत्रका अगुवाहरुले नव निर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना दिए । समाजका निवर्तमान अध्यक्ष सोम गुरुङले नयाँ कार्यसमितिले राज्यमा बसोबास गर्ने सबै नेपालीलाई समेट्दै भाइचारा बढाउनेमा आफुले विश्वास लिएको बताए । राज्यमा बसाइँ सरेर आउने नेपालीहरुको संख्या बढ्दै गएको परिप्रेक्षलाई ध्यानमा राखेर संस्थाले काम गर्नुपर्ने उनको सुझाव थियो । यस्तै संस्थाका पूर्व अध्यक्षहरु मिन गौतम, रविन थापा, सामाजिक अभियन्ता इश्वरी भट्ट, निर्वाचन समिति संयोजक शम्भू गुरुङ एवं सदस्य छत्र गुरुङलगायतले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष विष्टले राज्यमा बसोबास गर्ने नेपालीहरुको छाता संस्थाको रुपमा समाजलाई अघि बढाउन अहिलेसम्मको नेतृत्वले पुर्याएको योगदानप्रति धन्यवाद दिइन् । समाजले सुरु गरेको नेपाली सामूदायीक भवन निर्माण अभियानलाई आफु नेतृत्वको कार्यसमितिले उच्च महत्व दिने प्रतिवद्धता उनले व्यक्त गरिन् । युवा पुस्तालाई समाजको गतिविधीमा समेट्दै उनीहरु माझ नेपाली संस्कृति चिनाउने र विस्तार गर्ने आफ्नो अर्को प्राथमिकता रहेको उनको भनाइ थियो ।