काबुल । अन्तर्राष्ट्रिय फौजसँगको भिषण युद्धका वावजुत तालिबानले अफगानिस्तानमा देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाएको छ । अफगानिस्तानका कुल पाँचवटा क्षेत्रीय राजधानीमा कब्जा जमाएको बीबीसीले लेखेको छ। अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो। उसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको समेत बीबीसीले लेखेको छ।
तालिबानले आइतवार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको छ । उसले सारएपोल र तालोकान सहरमा पनि कब्जा गरेको समाचारमा उल्लेख छ । तालिबानले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीमा आफ्नो नियन्त्रण कायम गरेको हो । त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको समेत उल्लेख छ ।
२० वर्ष लामो सैन्य अभियानपश्चात् अन्तर्राष्ट्रिय फौजले अफगानिस्तान छाड्न थालेपछि त्यहाँ हिंसा व्यापक रूपमा बढेको छ । तालिबानले पछिल्ला सातामा त्यहाँ तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरिरहेको छ। देशका बाहिरी क्षेत्रमा व्यापक नियन्त्रणपछि उसले अहिले मुख्य सहरहरूलाई लक्षित गर्दै हमला गरिरहेको छ।