म्यानचेस्टर
न्यू ह्यामसायरमा आयोजित भेटरान्स कप फुटबल (सकर) प्रतियोगिताको उपाधि म्यानचेस्टर दाजुभाइ टिमले जितेको छ । गुरुङ तमु समाज न्यू ह्यामसरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा राज्यका बिभिन्न स्थानको प्रतिनिधित्व गर्दै चार टिमले भाग लिएका थिए ।

प्रगियोगितामा सहभागिताका लागि न्यूनतम उमेर ३५ बर्ष तोकिएको थियो । प्रौढावस्था तर्फ प्रवेश गर्दै गरेको उमेर समुहमा खेलप्रतिको भावना जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको समाजका सदस्य एवं प्रतियोगिताका ‘को-अर्डिनेटर’ नरेन्द्र गुरुङले बताए । ‘बिषेश गरि हामी नेपालीहरुमा उमेर उकालो लाग्दै गएपछि खेलकुद आफ्नो लागि होइन भन्ने मान्यता रहेको छ, उनले विश्व न्यूजसँग भने- खेलकुद र स्वास्थ्य उमेरमा होइन आफ्नो मेहनत र लगावमा भर पर्छ भन्ने सन्देश स्थापित गर्न प्रतियोगिता आयोजना गरेका हौँ ।’

स्थानीय इष्ट म्यानचेस्टर सकर मैदानमा आयोजित प्रतियोगितामा काठमाडौँ बजार कंकर्डलाई ४-१ गोल अन्तरले हराउँदै म्यानचेस्टर दाजुभाइ टिमले उपाधि हात पारेको हो । फाइनलमा बिजेता एवं उप बिजेता टोलीलाई समाजका अध्यक्ष हितमान गुरुङ र संस्थापक अध्यक्ष तोप गुरुङले नगद पुरस्कार सहित खादा लगाएर सम्मान गरेका थिए । प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरु बिजेता टोलीका गोविन्द गुरुङ र तेन्जिङ उर्गेनलाई समेत नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगितामा सम्पन्न गर्न कुशलता पुर्वक रेफ्रीको जिम्मेवारी निभाउने हेम गुरुङ, दिनेश गुरुङ र सुमन गुरुङलाई पनि सम्मान गरिएको थियो ।

पुरस्कार वितरणपछि सम्बोधन गर्दै समाजका अध्यक्ष गुरुङले पहिलो चोटी राज्यमा आयोजित भेटरान्स कपमा नेपालीहरुले देखाएको सहभागिताले आफुहरुलाई उत्साहित बनाएको बताए । ‘भेटरान्स कपको अवधारणाले प्रौढ उमेरमा प्रवेश गरेका हामीजस्तामा पनि खेलकुदप्रति युवा जोश पलाएको छ, उनले भने – छोटो समयको तयारीमा समेत खेलाडीहरुको उत्साहजनक सहभागिताले हामीलाई यस्ता प्रतियोगितालाई निरन्तरता दिन प्रेरित गरेको छ ।’
