नेपालमा ‘क्याफे कल्चर’ भित्राउने प्रसिद्ध व्यवसायी कक्षपतिको निधन

काठमाडौं । नेपालमा क्याफे कल्चरलाई प्रख्यात बनाउने सफल व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । उनी नाङ्ग्लो रेष्टुराँका सञ्चालक हुन् । कक्षपतिको सोमबार उपचारका क्रममा थाइल्याण्डमा निधन भएको हो । उनका श्रीमति, एक छोरी र एक छोरा छन् । उनी लामो समयदेखि मुखको क्यान्सरसँग जुधिरहेका थिए । कक्षपति शुभतारा स्कुलका संस्थापक समेत हुन् । कोरोनाका कारण यो स्कुल बन्द गर्ने निर्णय भएपछि धेरै जनाले यसबारे चासो समेत राखेका थिए । दरबारमार्गमा ४५ वर्षअघि कक्षपतिले नाङ्ग्लो थालेका हुन् ।

नेपालमा रेष्टुराँमा पुगेर खाजा खाने प्रचलनलाइै स्थापित गराउन उनको ठूलो भूमिका रहेको छ । नाङ्ग्लोले अहिले देशभर सेबा बिस्तार गरिसकेको छ । कक्षपतिको जन्म पाल्पामा भएको हो । कक्षपति परिवारले नेपालमा सुन्दरी प्रतियोगिता थालेर मिस नेपाल छनोट गर्न थालेको हो । पृथ्वी राजमार्गको किनारमा पोखरा र काठमाडौं जोड्ने गरि रिभर साइड रिर्सोट स्थापना गरेका उनी होटेल संघ नेपालका पूर्व अध्यक्ष हुन् । रेष्टुरेन्ट व्यवसायी संघका भने उनी संस्थापक अध्यक्ष हुन् ।