काठमाडौं । विश्वका चर्चित क्रिकिेटरहरुको जमघट केही समयपछि नेपालमा हुने छ । यसको तारतम्य मिलाएको हो एभरेस्ट प्रिमियर लिग (इपीएल)ले । यो प्रतियोगिता ९ असोजबाट सुरू हुनेछ । आयोजकले इपीएलको ट्रफी सोमबार सार्वजनिक गरेको छ । प्रतियोगिताको हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्दैछ ।
इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका छन् । सो अवसरमा अख्तर र गोल्छाबीच मुख्य प्रयोजनका लागि सम्झौता समेत भयो । मुख्य प्रायोजन भएवापत बजाज पल्सरले लिगलाई २ करोड ५० लाख रुपैयाँ दिनेछ । यो नेपालमा आयोजना भएका खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो प्रयोजन रकम हो ।
यसअघि ए डिभिजन फुटबल लिगमा कतार एअरवेजले १ लाख ५० हजार अमेरिकी डलर दिनु नै सर्बभन्दा ठूलो प्रयोजन थियो । ईपीएलको चौथो संस्करण विश्वका १५० देशमा प्रत्यक्ष प्रशारण हुने भएको छ । यो प्रतियोगितामा विश्वचर्चित खेलाडीहरु शाहिद अफ्रिदी, शोयब मलिक, कार्लोस ब्राथवेट जस्ता खेलाडी सहभागी हुने भएका छन् ।
प्रतियोगिता कीर्तिपुरको त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिता १४ दिनसम्म चल्ने छ। प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किङ्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले उपाधीका लागि भिड्ने छन् ।