काबुल । अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेको छ । पछिल्लो युद्धको तीन दिनमा २७ जना बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। बीबीसीका अनुसार राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको समेत उल्लेख गरेको छ । दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरण सार्वजनिक भएका छन् ।
विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ। सोहीक्रममा भिषण युद्ध जारी छ । गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको बीबीसीले लेखेको छ । अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ। त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्। सोमवार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको समेत जनाएको छ । कान्दाहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएका हुन् । विगत तीन दिनमा ती क्षेत्रहरूमा १३६ भन्दा बढी बालबालिका घाइते भएका छन् ।