नेपालमा २६ लाख मानिसले लगाए कोरोना खोपको डबल डोज, १ करोड डोज भित्रियो

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको १ करोड डोज खोप भित्रिएको छ । नेपाल खोप उत्पादक मुलुक होइन । सोहीकारण नेपालले अनुदान वा खरीदमा भर पर्नु परेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार नेपाल भित्रिएको खोपको विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म १ करोड डोज खोप भित्रिएको छ । नेपालमा अमेरिका, भारत, चीन, भुटान र जापानबाट खोप आएको छ । नेपालमा १४ माघ २०७७ बाट कोरोना विरुद्धको खोप लगाउन थालिएको हो । तर, खोपको आपूर्ति कम भएका कारण नेपालले खोप अभियानलाई तिब्र बनाउन भने सकेको छैन । सरकारले चैत भित्र खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।