काठमाडौं । सोमबार राती संयुक्त अरव इमिरेट्स (यूएई) उडानका लागि तयार भएको हिमालय एयरलाइन्सले अचानक उडान बन्द भएको घोषणा गर्यो । यूएई जान विमानस्थल आएका सयौं यात्रु आक्रोसित बने र विमानस्थलमा तनावपूर्ण अवस्था सिर्जना भयो । यस्तो अवस्था आउनुमा एयरलाइन्स वा विमानस्थल प्रशासनको भने दोष थिएन । गन्तब्य मुलुकले कोभिड–१९ को परीक्षणमा थप कडाइ गरेसँगै यात्रुको यात्रा प्रभावित बनेको हो ।
यूएई सरकारले ७२ घण्टासम्मको पोजेटिभ पिसिआर रिपोर्टलाई मान्यता नदिने निर्णय गरेको छ । युएइ सरकारले ५ अगष्ट देखि लागु हुने गरी ४८ घण्टाको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपालको विमानस्थलमा र्यापिड टेष्ट, एन्टीजेन टेष्ट गरेको हुनुपर्ने प्रावधान अनिवार्य गरेको छ । यो प्रावधान विमानस्थलमा नभएपछि यात्रु फर्कन बाध्य भएका हुन् ।
यूएई सरकारले यूएईको आवासीय भिसा भएको र यूएई भित्रै दुई मात्रामा कोभिड विरुद्धको खोप लगाएकालाई मात्र प्रवेश दिने जनाएको छ । तर प्रवेशका क्रममा यूएई विमानस्थलमा ओर्लिएपछि पुनः पिसीआर टेष्ट गर्नुपर्ने, क्वारेन्टीन र स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने गरि कडा नियम ल्याइएको छ । जसले गर्दा नेपाली यात्रुको यात्रा प्रभावित बनेको हो ।