लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा बिहीबार बिहान केसीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

८७ सदस्यीय प्रदेश सभामा अहिले ८० सदस्य छन्। जसमध्ये केसीको पक्षमा कांग्रेसका १९, माओवादीका १८, जसपाका तीन र जनमोर्चाका एक जनाले समर्थन गरेका छन्। त्यस्तै, सूर्य चिह्नबाट चुनाव लडेका अजय शाहीले पनि केसीलाई समर्थन जनाएका छन्।

योसँगै केसीको पक्षमा ४२ सांसद पुगेका छन्। सरकार गठनका लागि ४१ सांसद आवश्यक पर्छ। प्रतिपक्षी दल एमालेसँग ३७ जना सांसद रहेका छन् ।