अर्थमन्त्रीले भने : आन्तरिक राजस्व दोब्बर बढाउने योजना ल्याउ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । बिहीवार आन्तरिक राजस्व विभागको ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । ‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एक पटक राम्रोसँग सोच्नुहोस्, राजस्व सङ्कलन बढाउन सकिने उपायहरू तपाईँ आफैँ फेला पार्नुहुनेछ’, उनले भने ‘त्यसका लागि तपाईँलाई के चाहिन्छ ? जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ, त्यो उपलब्ध गराइन्छ । तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नैपर्छ ।’

उनले करदातालाई कानुन लगाएर कर तिराउने नभइ करदाता आफैँले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए । ‘करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के–के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्’, मन्त्री शर्माले भने, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।’

मन्त्री शर्माले समग्र देशको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन रु यसको हिसाब खोइ ? नागरिकसँग भएको सम्पत्ति के–कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के–कति हो ? यसको हिसाब गर्ने योजना पनि चाहियो’, उनले भने । कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व सङ्कलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताए ।