तालिवानले भन्यो : दोस्रो ठूलो शहर कान्दहार नियन्त्रणमा आयो

Photo : Yahoo news

काबुल । युद्ध जारी राखेको तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ। बीबीसीका अनुसार उक्त सहर नियन्त्रणमा लिनु तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ। उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र हो । यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र समेत हो ।

अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीवार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको छ । बीबीसीले लेखे अनुसार तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको छ । उता विश्व शक्ति राष्ट्रहरूले भने सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने बताइसकेका छन् ।

अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुनः काबुलमा सैनिक समेत पठाउने भएका छन् । दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रणमा लिएको छ । उसले हालसम्म देशको एक तिहाइ भूभागमा आफ्नो नियन्त्रणमा लिइसकेको समेत बताएको छ । अब तालिवान राजधानी काबुलतर्फ अगाडी बढेको छ । यसले भिषण युद्ध हुने अनुमान गरिएको छ । अहिले राजधानीमा तालिबानले नियन्त्रण गरेका क्षेत्रबाट अहिले हजारौँ नागरिकहरू भागेर आएका छन्।