अफगानिस्तानको अमेरिकी दूतावासमा कार्यरत ३ सय नेपालीलाई अमेरिकी सेनाले उद्धार गर्ने

Reuters

काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय नेपलाीलाई अमेरिकी सेनाले उद्धार गर्ने भएको छ । तालिवान विद्रोही यतिबेला राजधानी काबुलतर्फ अगाडी बढेको छ । सोहीकारण अमेरिकासहितका मुलुकले आफ्ना नागरिक र कूटनीतिज्ञको उद्धार थालेका छन् । सो प्रयोजनका लागि अमेरिकी सेना काबुल पुगेको छ । अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको कान्तिपुर दैनिकमा समाचार छ । समाचार अनुसार अमेरिकी दूतावासमा अहिले तीन सय जना नेपालीले सुरक्षा गार्डका रुपमा काम गरिरहेका छन् ।

अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले काबुलबाट सो बारे जानकारी गराइएको समाचारमा उल्लेख छ । उनीहरूलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सकिने जानकारी गराएको छ । तयार भएर बस्न भनिएपनि फिर्ता हुने दिन भने नतोकिएको उनले बताएका छन् । अहिले काबुलमा तालिवानले कब्जा जमाउन शुरु गरिएको छ । विद्रोही समूह राजधानी नजिकै आइसकेको छ । अमेरिकाले कुटनीतिज्ञहरुलाई समेत धमाधम उद्धार गरिरहेको छ ।

यसअघि अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका ‘सिभिलियन’ कामदारलाई भने फर्काइसकेको समेत समाचारमा जनाइएको छ । जसमा झन्डै १ सय ५० जना नेपाली थिए । उनीहरूलाई कम्पनीले दुबई लगेर राखेको बताइएको छ । उनीहरुमध्ये केही नेपाल फर्किसकेका छन् । फ्लोर कम्पनीले जुलाई अन्तिमदेखि नै कार्यालय सहयोगी, प्रशासनिक कर्मचारी, ड्राइभरजस्ता क्षेत्रमा कार्यरत नेपालीलाई काबुलबाट बाहिर निकालिसकेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा नेपालीहरू अमेरिकी दूतावास, युरोपेली संघ, राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा कार्यरत रहेको समाचारमा उल्लेख छ ।