अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि समिति गठन

काठमाडौं । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपालीको उद्धारका लागि सहसचिवको
नेतृत्वमा समिति गठन गरेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव भरतराज पौडेलले समिति गठन गरिएको बताएका हुन् । उनका अनुसार त्यहाँ रहेका नेपाली कामदारहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन गरिएको हो ।

समितिमा अन्य सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहेन छन् । काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ । उनीहरुले आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले बताएका छन् । अफगानिस्तानमा हाल करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ ।

आइतबार तालीबानका लडाकुहरु काबुल प्रवेश गरेका छन् । तालिबानले तोर्खाम सीमा पार गरेको छ । अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीकाअनुसार तालिबानले काबुलमा चारैतिरबाट आक्रमण सुरू गरेका छन् । तालिबान लडाकूहरु काबुलको बाहिरी इलाकामा प्रवेश गरेपछि आतंकित कर्मचारीहरु सरकारी कार्यालयहरुबाट भागेका छन् ।