तालिबानले राजधानी कब्जा गरेपछि देश छाडेर भागे अफगानी राष्ट्रपति गनी

Getty Images\BBC

काबुल । विद्रोही तालिबानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि त्यहाँका राष्ट्रपति अशरफ गनीले देश छोडेर भागेका छन् । यसअघि उनले अफगानिस्तानमा सत्ता साझेदारी हुने र शान्तिपूर्णू रुपमा वार्ता हुने बताएका थिए । बीबीसीका अनुसार अफगानिस्तानका अधिकारीहरूले यसको पुष्टी गरेका छन् । तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो। उनको साथमा अफगान उपराष्ट्रपति समेत भागेको बताइएको छ ।

दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए। यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको उल्लेख गरेको थियो । यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो। आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी समेत गरेको थियो।

राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा काबुलमा फाट्टफुट्ट गोली चलेको भएपनि काबुलमा आक्रमण नभएको बताएको थियो । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेको समेत बताइएको थियो । केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्।