काठमाडौं । अफगानिस्तान अब पूर्ण रुपमा विद्रोही तालिबानको कब्जामा आएको छ । यससँगै देशको बागडोर सम्हालिरहेका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह भने भागेका छन् । आइतबार बिहानसम्म स्थिति नियन्त्रणमै रहेको बताएका राष्ट्रपति साँझ एकाएक देश छाडेको खबर सार्वजनिक भएको हो । समाचार एजेन्सीहरुले जनाए अनुसार यी दुई नेता विमानस्थलबाट छिमेकी मुलुक उज्वेकिस्तान पुगेका छन् । विमानस्थललाई अमेरिकी सेनाले घेर हालेको छ । गनीको साथमा उनकी पत्नी, सेना प्रमुख र राष्ट्रीय सुरक्षा सलाहकार समेत भागेर उज़्बेकिस्तानको राजधानी ताशकंद पुगेका छन् ।
राष्ट्रपतिका व्यक्तिगत सुरक्षागार्डले यसको पुष्टी गरेका हुने । देशबाट भागेसँगै गनीले एक भिडियो सन्देश सार्वजनिक गरेका छन् । उनले देश छाड्नु कठिन अवस्था भएपनि रक्तपात रोक्न यस्तो निर्णय लिनुपरेको बताएका छन् । आफुले देश नछाडेको भए लाखौं मानिसको जिन्दगी खतरामा पर्ने जोखिम रहेको उनको भनाई छ । उनले तालिबानले बन्दुकको बलमा सत्ता लिएको भन्दै अब मुलुकका नागरिकको जिम्मेवारी समेत उसले लिनुपर्ने बताएका छन् ।