अफगानिस्तानबाट ३३० नेपालीको उद्धार, दोहामा अवतरण

Reuters

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलबाट ३३० जना नेपालीको उद्धार भएको छ । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार गरिएको जानकारी सरकारलाई दिएका छन् । देशिक रोजगार विभागमा यस्तो जानकारी प्राप्त भएको हो । नेपाली काम गरिरहेको विदेशी नियोग र कार्यालयकै समन्वयमा नेपालीको उद्धार भएको हो । उनीहरुले कतारको राजधानी दोहामा सुरक्षित अवतरण भएका छन् ।

त्यहाँबाट प्रक्रिया पुरा गरि उनीहरु नेपाल आउन सक्ने छन् । काबुलस्थित विमानस्थलमा अझै साढे ४ सय हाराहारीको संख्यामा नेपाली नागरिक भने उद्धारको पखाईमा रहेका छन् । सरकारले आइतबार सार्वजनिक गरेको सम्पर्क रजिष्ट्रेसन फारम भरेर पोर्ट र विभिन्न सम्पर्क नम्बरबाट सोमबार साँझसम्म १३४ जनाले आफ्नो नाम टिाएका छन् ।

अब सरकारले उनीहरुको समेत उद्धारको बन्दोबस्त गर्ने भएको छ । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयमा औपचारिक पत्राचारसमेत गरिसकेको छ ।