काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका ११८ जना नेपाली मंगलबार काठमाडौं फर्किएका छन् । उनीहरुलाई अमेरिकी सेनाको जहाजले काबुलबाट उद्धार गरेको थियो । उनीहरूलाई नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एक आइसोलेशन केन्द्रमा लगेर राखेको छ ।
अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको थियो । त्यहाँबाट उनीहरू जजिरा एयरवेजको जहाज चढेर नेपाल आइपुगेका हुन् । उनीहरुलाई अमेरिकी दूतावासका कर्मचारीले विमानस्थलमै स्वागत गरे । उद्धार गरिएका नेपाली एक दिनअघि कुवेत पुगेका थिए। उनीहरुको आवश्यक कागजपत्रको परीक्षण गरिने, कोरोनाभाइरसको एन्टिजन जाँच गरिने र प्रक्रिया पुर्याएर होम आइसोलेशनमा जाने मिल्नेगरी सेनाले व्यवस्थापन मिलाउने भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक संजालमा लेखेको छ, ‘काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरूमध्ये पहिलो उडानमार्फत् आउनु हुनेलाई सकुशल काठमाण्डूमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो, हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौँ। धेरै धन्यवाद।’