काबुल । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले सबै सरकारी कर्मचारीहरूलाई आममाफीको घोषणा गरेको छ । तालिबानले उनीहरूलाई पूर्ण विश्वासका साथ काममा फर्कन समेत आह्वान गरेको छ । सबैका लागि आम माफी घोषणा गरिएको बीबीसीले जनाएको छ । तालिबानले विज्ञप्ति निकाल्दै यस्तो जानकारी गराएको हो । तालिबानको पछिल्लो घोषणा अफगानिस्तानमा छाएको त्रासकाबीच आएको हो ।
सरकारी कर्मचारी, पश्चिमा राष्ट्रको संलग्नता रहेका संस्था र अमेरिकी सेनाका लागि दोभासेका रूपमा काम गरेकाहरू तालिबानले बदला लिन सक्ने सम्भावनाका कारण त्रसित रहेका छन्। तालिबान उसले दिने क्रूर सजायका लागि परिचित छ। युद्ध अपराध गरेको आरोप लगाइएको भए पनि उसले त्यो आरोप अस्वीकार गर्दै आएको समेत बीबीसीले लेखेको छ ।
सोमबारबाट सैन्य विमानहरूले काबुलस्थित विमानस्थलबाट त्यहाँ रहेका कूटनीतिज्ञ र सर्वसाधारणहरूलाई अन्यत्रै लान पुनः सुरु गरेका थिए । सोमवार उक्त विमानस्थल अस्तव्यस्त देखिएको थियो। देश छोड्न व्यग्र दशौँ हजार अफगानहरू धावन मार्गसम्मै पुगेको र उडान भर्न लागेका विमान चढ्ने प्रयास गरेको तस्बिरहरू सार्वजनिक भएका थिए। अधिकारीहरूका अनुसार मंगलवार भने तुलनात्मक रूपमा अवस्था निकै शान्त छ। अधिकांश मानिस घर फर्किएका छन् ।