काबुल । अफगानिस्तानबाट विदेशी फौज फिर्ता भएपछि मुलुकको सत्ता कब्जा गरेको विद्रोही समुह तालिबानले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षे सङ्घर्षपछि देश मुक्त भएको र विदेशीलाई भगाउन सफल भएको बताए । यो देशका लागि गर्वको क्षण भएको उनको प्रतिक्रिया छ । उनले अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने भन्दै त्यसको सुनिश्चिता तालिबानले गर्ने बताए । उनले तालिबान विरुद्ध लडेका सबैलाई आममाफी दिएको समेत बताए ।
उनले तालिबानले अब बाह्य वा आन्तरिक शत्रु नचाहेको समेत स्पष्ट पारे । उनले अब तालिबानका कारण कसैले पनि हानी बेहोर्नु नपर्ने समेत बताए । आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको भन्दै विश्वस्त हुन आग्रह गरे । अब महिलाले काँधमा काँध मिलाएर काम गर्न सक्ने उनको भनाई छ ।
तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको समेत उल्लेख गरेको छ । पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मुजाहिदले निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउने बताए । उनले कसैसँग पनि बदला नलिइने भन्दै नडराउन आह्वान गरेका छन् ।