काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कुल ५ मुलुकले सहभागिता जनाउने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्ने छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले १३ औँ संस्करणमा पाँच देशलाई सहभागी बनाइ खेल तालिका सार्वजनिक गरेको हो । एक वर्ष अगाडी नै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण पछाडी धकेलिएको हो ।
माल्दिभ्स, भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काले यो पटक खेल्ने भएका हुन् ।
यस संस्करणमा भुटान र पाकिस्तानले भाग लिएन । दक्षिण एसियाली मुलुक अफगानिस्ताले भने दुई वटा प्रतियोगिता पछि नै साफमा खेल्न छाडेको हो । पाकिस्तानको टीम फिफाको निलम्बनका परेका कारण सहभागी भएन । भुटानले भने कोरोना महामारीलाई कारण भनेको छ । प्रतियोगिता असोज १५ देखि २७ गतेसम्म आयोजना हुनेछ ।
तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेल श्रीलङ्कासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २५ गते खेल्नेछ । प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ मा भिड्ने छन् । साफ च्याम्पियनशिपका लागि नेपाल अहिले बन्द प्रशिक्षणमा छ । अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा पोखरा रङ्गशालामा तयारी भइरहेको छ ।