काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये आउन बाँकी आधा (करिब ८ लाख डोज) शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको दुतावासको सूचनामा उल्लेख गरेको छ ।
जापान सरकारले १६ लाख १४ हजार ७४० खोप सहयोग गरेको थियो । त्यसमध्ये आधा खोप (करिब ८ लाख डोज) साउन २३ र २४ गते दुई खेप गरि काठमाडौं आएको थियो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको विम्ब भएको उल्लेख गरेका छन् । उक्त खोप कोभ्यासको सुविधा अन्तर्गत जापान सरकारबाट नेपालले पाएको हो ।