एमाले समाजवादीतर्फ नगएका ९ नेताले भने : एमाले एकता हुनुपर्छ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका माधव नेपाल पक्षका ९ जना नेताले आफुहरु अझै पनि पार्टी एकताको पक्षमा रहेको बताएका छन् । विगतमा केपी ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका यी नेताहरुले अहिले माधव नेपालको साथ छाडेका छन् । माधव नेपाल भने एमाले समाजवादी पार्टी गठन गरि अगाडी बढेका छन् ।

आफूहरु पार्टी एकताका लागि अझै क्रियाशील रहेको भन्दै उनीहरुले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारबाही रद्द गर्नुपर्ने माग राखेका छन्। उनीहरुले संयुक्त वक्तव्य निकालेर पार्टीलाई तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरेका हुन् ।

‘पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हामी हार्दिक आग्रह गर्दछौँ,’ वक्तव्यमा उनीहरुले भनेका छन् ।

वक्तव्यमा भीम रावल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट र रघुजी पन्तले हस्ताक्षर गरेका छन्। यी नेताले विगतमा संविधान बचाउन माधव नेपालको साथ दिएको भएपनि वर्तमान सरकार बनाउन भने भूमिका खेलेका थिएनन् । वर्तमान सरकार बनाउन साथ दिएका एमाले नेताहरु भने माधव कुमार नेपालको साथमा लागिसकेका छन् ।