काठमाडौं । काठमाडौंमा भागेको एक राँगोलाई गोली हानेर मार्नु परेको छ । काठमाडौंको सडकमा आतंक मच्याएपछि राँगोलाई प्रहरीले गोली हानेर मारेको हो । यो घटना बिहीबार राति करिब १० बजेतिरको हो । कालिमाटी रामघाटस्थितबाट एक राँगो दौडेर सडकमा निस्किएपछि सडकमा भागदौड मच्चिएको थियो । त्यसक्रममा राँगोले सवारीसाधन तथा मानिसहरूलाई हान्न थालेको थियो । बधशालामा ट्रकबाट राँगोलाई ओरालेपछि भागेको थियो । प्रहरीको गाडीले राँगोलाई पच्छ्याएको थियो ।
टेकूबाट दौडिएको राँगो सुरूमा त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर पुगेको थियो । त्यहाँबाट टेकु पुगेर परोपकार, बसन्तपुर, भीमसेनस्थान हुँदै क्षेत्रपाटी पुगेपछि राँगोमाथि प्रहरीले गोली हानेको हो । चार राउन्ड गोली चलाएपछि राँगो मरेको छ । राँगोले हानेर मानिसहरु घाइते भएको विवरण भने नआएको प्रहरीले जनाएको छ । काठमाडौंमा वधशाला व्यवस्थित नहुँदा यसरी राँगो र भैसीहरु सडकमा निस्कने गर्छन् ।