काठमाडौं । अफगानिस्तानबाट नेपाल फर्कने नागरिकको संख्या ५०४ पुगेको छ । परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार शनिबार टर्किस एयरको जहाजमा २६ र जजिरा एयरको जहाजमा थप ९ जना गरि कुल ३५ जना नेपाली घर आएका छन् । कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझसम्म ३ सय भन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गरेको तथ्यांक छ ।
उद्धारको लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगिसकेकाहरुको विवरण रुजु गरी बाँकी व्यक्तिहरूको उद्धार गरिने भएको छ । त्यसका लागि उद्धार उडान गरिरहेका देशहरुसँग समन्वय भइरहेको मन्त्रालयले जानकारी गराएको छ ।
अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा गरेपछि विदेशीहरु धमाधम स्वदेश फर्किरहेका छन् । सोहीक्रममा नेपालीको समेत उद्धार भइरहेको छ । नेपालीलाई उनीहरु कार्यरत रहेको निकायले नै यूएई, कतारसहितका मुलुकमा ल्याउने गरेको छ । त्यहाँबाट उनीहरु जहाजबाट काठमाडौं आइरहेका छन् ।