काठमाडौं । शनिबार मलेसियाबाट एकै उडानमा २४ जना नेपालीको शव र अस्तु ल्याइएको छ । वैदेशिक रोजगारीमा जाँदा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव एकै पटक नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । वैदेशिक रोजगार बोर्डले यी शव नेपाल ल्याउन भूमिका खेलेको हो ।
सचिवालयका अनुसार मलेसियाबाट ९ वटा शव र १५ वटा अस्थु गरी २४ जनाको शव नेपाल ल्याइएको हो । बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरिएको छ ।
विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको छ । विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था छ । पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ ।
वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७, ०७८ मा मात्र एक हजार २४२ जनाले ज्यान गुमाएका छन् । विदेशमा कारण थाहा नभएको, प्राकृतिक, अन्य, अनुसन्धान भइरहेकोजस्तो बाट मृत्यु भएको विवरण आउँछ । यसमा खासगरी हृदयाघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटनाबाट नेपालीको मृत्यु हुने गरेको छ ।