काठमाडौं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणमा जाने निर्णय लिएको छ । पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। बैठक पेरिसडाँडामा शनिबार र आइतबार दुई दिनसम्म चलेको थियो ।
श्रेष्ठका अनुसार कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउन पार्टीले पहल गर्ने उनले बताए । बैठकले हालै बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्न समेत छलफल अगाडी बढाएको छ ।
पार्टीको राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय गरेकोछ । पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पार्ने काम गरेको र उक्त निर्देशिका पार्टीका तल्ला कमिटीमा पठाउने निर्णय समेत गरेको श्रेष्ठले बताए ।