वार्ता र सहमतिका समाचार धोखाधडीका निरन्तरता मात्र हुन् : माधव कुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वार्ता र सहमतिका नाममा आएका समाचार धोकाधढीको निरन्तरता मात्र भएको बताएका छन् । सोमबार राती एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिमा अपिल समेत गरेका छन् । पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचार सार्वजनिक भएको उनले बताएका छन् ।

‘नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,’ नेता नेपालले भनेका छन्, ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ । नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढ्नुलाई उनले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोहक संज्ञा दिएका छन् ।